पोखरा– यती एयरलाइन्सको विमान पोखरामा दुर्घटना हुँदाका प्रत्यक्षदर्शी स्थानीय विष्णु गिरीले विमान सुरुमा ‘अनब्यालेन्स’ हुँदै सेतीको खोँचमा खसेको बताएका छन्। पोखराका स्थानीय गिरी विमान दुर्घटना भएलगत्तै उद्धारका लागि घटनास्थल पुगेका थिए।
उनले अन्य स्थानीयहरुलाई समेत साथ लिएर उद्धार कार्यमा सहयोग गरेका थिए। उनका अनुसार सुरुमा जहाज आकाशमा सहज रुपमा उडान गर्न सकिरहेको थिएन। विमानस्थल नजिकै पुग्दा विमान कोल्टे परेको जस्तो र अनब्यालेन्स भएको देखिएको उनले बताए। विमान दुर्घटना भएपछि आफूहरु घटनास्थलमा तत्काल आएको र तलबाट एक जनाको आवाज सुनेको उनले बताए।
‘हामीले दुर्घटना भएको खोँचको तलबाट आवाज सुनेका थियौँ,’ उनले भने, ‘हामीले तपाईंलाई हामी उद्धार गर्छौँ भनेर भनि रह्यौँ। यसरी कराउने एक जना माछा मार्न गएका भाइ रहेछन्। ’ उनी पोखराकै स्थानीय भएको गिरीले बताए।
‘सुरुमा हामी दुर्घटनास्थलमा जान सक्ने अवस्था नै थिएन। चारैतिर धुँवाको मुस्लो मात्रै थियो। पछि उहाँ आफैं माथि आउनुभयो,’ उनले भने, ‘अनुहार रगतले चिन्न नसक्ने थियो। पछि एम्बुलेन्समा अस्पताल पठायौँ।’
अनुहार चिन्न नसक्ने अवस्था रहेकाले शुरुमा आफूहरुले प्लेनको यात्रु हो कि भन्ठानेको, तर माछा मार्न गएको भनेर उनले नै भनेपछि थाहा पाएको गिरीले बताए।
‘हामी यहाँ आउँदा आगो लागेर धुँवामात्र थियो। यहाँ के थियो भन्न सक्ने अवस्था नै थिएन। यहाँ देख्दा के खसेको वा खसेका व्यक्तिहरुको के छ अवस्था भन्ने पत्ता लगाउन नसक्ने अवस्था थियो,’ उनले भने, ‘हामीले प्रहरीलाई खवर गर्यौं अनि स्थानीयहरुलाई बोलाएर उद्धार गर्न खटिएका थियौँ।’
यसअघि उक्त खोँचमा बच्चा समेत खसेको उनले बताए।
‘आकाशमा प्लेन सकुशल थियो। ब्यालेन्स नभएको भने देखिन्थ्यो। आकाशमा आगो लागेको थिएन,’ उनले भने, ‘सेती खोचमा देव्रे पखेटा पहिला ठोकियो अनि प्लेनमा आगो लागेको हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।