काठमाडौं– माघ १ गते माघे सङ्क्रान्तिको दिन। माघे संक्रान्तिकै दिन आइतबार पोखरामा ठूलो धनजनको क्षति हुने गरि यती एयरको विमान दुर्घटनामा पर्यो। काठमाडौंबाट पोखराका लागि उडेको ९एन–एएनसी विमानमा चालक दलका ४ जना, १५ विदेशीसहित ७२ जना सवार थिए।
नेपालमा भएको आन्तरिक हवाई दुर्घटनामध्ये आइतबार पोखरामा भएको दुर्घटनामा सबैभन्दा बढी जन–धनको क्षति भएको छ।
विमान दुर्घटनालगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेर घटनाको बारेमा जानकारी लिए। प्रधानमन्त्री प्रचण्डले विमानस्थलका महाप्रबन्धक सहितका कर्मचारीहरुलाई उद्धार कार्यमा कुनै कमी हुन नदिने गरि काम गर्न निर्देशन दिए।
दुर्घटनाकै विषयलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्यो। मन्त्रिपरिषद्को आकस्मिक बैठकले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गर्यो। पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक तथा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने सदस्य सचिव रहेको जाँचबुझ समिति गठन गरियो।
यस्तै, आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिने, आफन्तलाई यकिन जानकारी दिन कल सेन्टर स्थापना गर्ने र सोमबार देशभर शोक बिदा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गर्यो।
विमान दुर्घटनालाई लिएर शोक बिदा दिने सरकारको निर्णय भने विवादित बनेको छ। उक्त निर्णयको सामाजिक सञ्जाल प्रयोगकर्ताले चर्को आलोचना गरिरहेका छन्। प्राध्यापक डाक्टर जागेश्वर गौतमले ट्वीट गर्दै सरकारले दिएको सार्वजनिक बिदाको आलोचना गरेका छन्। उनले लेखेका छन, ‘हैन जहाज दुर्घटनामा बिदा दिने आइडिया कसको होला, दशैं अघिपछि त बस दुर्घटनामा योभन्दा धेरै मान्छेको मृत्यु भइरहन्छ। अब बस दुर्घटनामा समेत सार्बजनिक बिदा हुने होला, जे होस् सरकारले रेकर्ड तोड्ने भो।’
डा रामेश कोइरालाले ट्वीटरमा प्रधानमन्त्री प्रचण्डलाई मेन्सन गर्दै लेखेका छन, ‘ए प्रचण्डजी, हवाई दुर्घटनामा शोक त सही हो कि, बिदा त अलिक अचाक्ली भएन र? सबै सडक, वायु र जल यातायातका दुर्घटनामा बिदा दिने हो? हैन भने यो के हो? किन हो? भोलि ७ वटा मुटुका अपरेशन क्यान्सिल गर्नु पर्छ। भएन सर, पटक्कै भएन।’
त्यसैगरि प्रज्ज्वल फुयाल नाम गरेका ट्वीटर प्रयोगकर्ताले लेखेका छन, ‘हवाई यात्रा सुरक्षित र भरपर्दो बनाइदे सरकार, शोक बिदा चाहिँदैन बरु।’
बिदाको विरोध गर्दै पत्रकार नारायण अमृत लेख्छन्, ‘सबै दुर्घटनाहरु दु:खद् हुन्। हवाई होस् या सडक होस्। जल दुर्घटना नै किन नहोस्। दुर्घटनामा गुम्ने ज्यानहरु समान हुन्। राज्यले दुर्घटनाको कारण पहिल्याउने हो। दुर्घटना न्यूनीकरण गर्ने उपाय अवलम्बन गर्ने हो। सुरक्षित आकाश र सडकको प्रत्याभूति दिलाउने हो। तर बिदा दिएर के सन्देश दिन खोजिएको हो, बुझिएन।’
डा अच्युत वाग्लेलाई पनि शोक बिदा दिने सरकारको निर्णय चित्त बुझेको छैन। उनी लेख्छन्, ‘दुर्घटना भएपछि उद्धार, राहतमा पो ध्यान दिने हो। शोकमा परेकालाई सघाउने हो। के–के न गरेझैं बिदा दिएर सरकारको जिम्मेवारी पूरा हुन्छ? बिदाको विरोध गर्दा असंवेदनशील भएको आरोप लाग्ला। सार्वजनिक बिदाको यो संस्कार बिल्कुलै अनावश्यक हो।’
सुशील लेखक नाम गरेका ट्वीटर प्रयोगकर्ता सरकारले दिएको बिदाका बारेमा लेख्छन, ‘बिदाले समाधान दिँदैन, खटेर काम गर्नुपर्ने बेला झन् अल्छी बनाउँदै जान्छ। रचनात्मक उपायहरू सुझाउँ र कार्यान्वयन गरौँ,’ उनी थप्छन, ‘सबैलाई भोलि दिनभरी सार्वजनिक दुर्घटना (हवाई र सडक) को छलफल र आ–आफ्नो तहमा नीति र योजना बनाइ लागू गराऔं। नीतिगत सुधारका लागि सुझाव दिन उपयोग गरौं।’
त्यसैगरि पर्यटन विकास बोर्डकी सदस्य मिस्टिका देवकोटाले हवाई दुर्घटनाका बारेमा सरकारले दिएको बिदा अनावश्यक भएको लेखेकी छन्। उनी लेख्छिन्, ‘शोक बिदा रे? तिम्रो बिदाले ज्यान गुमाएका हाम्रा आफ्नाहरु फर्केर आउँछन्? समवेदनाप्रति खेल्न नखोज। नेपालको आकाश किन असुरक्षित छ? जहाजको कन्डिसन के कस्तो छ? चालक दलका सदस्यहरु के कस्ता छन्? कहिल्यै सरकारले यो बुझ्न खोजेको छ? स्टन्टबाजीमा रमाउने सरकार राजीनामा दे।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।