काठमाडौं– यती एयरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये ६८ जनाको शव फेला परेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले ६८ जनाको शव फेला परेको जनाएको छ।
आइतबार बिहान १०:३२ बजे काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको नाइनएन–एएनसी, एटीआर–७२ ५०० विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको थियो।
दुर्घटनामा ६८ यात्रु र ४ जना चालकदलका सदस्य गरी ७२ जना सवार थिए। जहाजमा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, कोरियन २ जना तथा आयरल्याण्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका १–१ जना नागरिक सवार थिए।
नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले उद्धार कार्य जारी रहेको जनाएको छ। काठमाडौं र पोखरा विमानस्थलमा खोज तथा उद्धारका लागि हेलिकोप्टरहरु तयारी अवस्थामा रहेको प्राधिकरणले जनाएको छ।
उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विमानस्थलस्थित उद्धार तथा आगलागी प्रतिकार टोली दुर्घटनास्थलमा परिचालन भएको प्राधिकरणले जनाएको छ।
उक्त दुर्घटनामा परेका यात्रुका परिवारका सदस्य तथा आफन्तहरुले यात्रुको अवस्था लगायतबारे टेलिफोनमार्फत् जानकारी लिनसक्ने प्राधिकरणले जनाएको छ। त्यसका लागि काठमाडौं विमानस्थलमा ०१–४११३१६३ र यती एयरलाइन्सका प्रतिनिधि (पेम्वा शेर्पा) लाई ९८०१००७५३१ मा फोन गर्न सकिने प्राधिकरणले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।