काठमाडौं- यही वर्ष दुई ठूला दुर्घटना भएका छन्। पहिलो दुर्घटना तारा एयरको जहाजमा सवार २२ जनाकै मृत्यु भएको थियो। यस वर्षको सुरुवात अर्थात् गत जेठमा तारा एअरको विमान मुस्ताङमा दुर्घटना भएको थियो।
उक्त जहाजमा सवार चालक दलका ३ सदस्य र १९ जना यात्रु सबैको मृत्यु भएको थियो। नेपालको हवाई उड्ययन इतिहासमा आइतबार पोखराको दुर्घटनासहित हवाई दुर्घटनाको संख्या १०४ पुगेको छ।
२०१२ वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको थियो।
तारा एअरको ९ एन एईटी जहाज मुस्ताङको थासाङ–२ को मानापाथी हिमालको फेदमा सानो सरे भन्ने स्थानको पहाडमा दुर्घटनाग्रस्त भएको थियो।
आइतबारको दुर्घटनामा सवार ७२ जनामध्ये हालसम्म एकजना पनि जीवित भेट्न नसकिएको बताइएको छ। योसँगै यही वर्ष हवाइ दुर्घटनामा मृत्यु हुनेको संख्या ९४ पुगेको छ।
आन्तरिक उडानतर्फ हालसम्म ५० जहाज दुर्घटनामा परेका छन्। साढे ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।