काठमाडौं- पोरखामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घटनाबारे मृतकका आफन्तहरूलाई सही सूचना दिन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ।
आइतबार दिउँसो बसेको बैठकले पार्थिव शरीर बुझ्न र लैजान सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्ने निर्णय पनि गरेको छ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
१. पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन
संयोजकः पूर्वसचिव नागेन्द्र घिमिरे
सदस्यहरु– हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा
सदस्य सचिव– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने
२. आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन
३. सोमबार (माघ २ गते) देशभर शोक बिदा
४. आफन्तलाई यकिन जानकारी दिन कल सेन्टर स्थापना
५. दुर्घटना स्थलको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री रवि लामिछाने र अर्का उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ पोखरा जाने
यद्यपि, प्रधानमन्त्री लगायत मन्त्रीहरु पोखरा जाने कार्यक्रम भने रद्द गरिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन्। उनका अनुसार उच्च तहका पदाधिकारीको भ्रमणले उद्धार कार्यमा कठिनाइ थप्ने भएकाले कार्यक्रम रद्द गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।