धनुषा– मधेस प्रदेश सभाको सभामुखमा नेकपा (एमाले)का रामचन्द्र मण्डल र नेपाली कांग्रेसका जङ्गीलाल राय गरी दुई जनाको उम्मेदवारी परेको छ। नेकपा (माओवादी केन्द्र)को प्रस्तावमा उम्मेदवारी दर्ता गरेका मण्डललाई जसपा, लोसपा, जनमतसहित सत्तारूढ दलहरूको समर्थन छ भने आफ्नै पार्टीको प्रस्ताव र समर्थनमा रायले उम्मेदवारी दिएका छन्।
मण्डलको प्रस्तावकमा माओवादी केन्द्रका भरतप्रसाद साह र समर्थनमा लोसपाकी रानी शर्मा तिवारी, जसपाका राम अशिष यादव, जनमतका महेश यादव रहेका छन्। रायको प्रस्तावक कांग्रेसकै कुमरकान्त झा र समर्थक जिवछी यादव रहेका छन्। सभामुखमा सत्तारूढ गठबन्धनका उम्मेदवार मण्डलले आफूसँग पाँच दल एमाले, जसपा, लोसपा, जनमत र माओवादी गरी कुल ७० सांसदको समर्थन रहेको बताए।
सभामुखमा उम्मेदवारी दिएको कांग्रेसले भने राजनीतिमा सधैँ जितका लागि मात्र उम्मेदवारी नहुने भन्दै हारमा पनि राजनीति र शक्ति हुने बताए। यद्यपि माघ २ गते सभामुख चुनिने कार्यतालिका रहेकाले दुई दिनमा जे पनि हुनसक्ने उनको तर्क छ।
माघ २ गते सभामुख चयनको कार्यतालिकाका साथसाथै मुख्यमन्त्रीको विश्वासको मत लिने कार्यतालिकासमेत रहेको प्रदेशसभा सचिवालयले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।