काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेपालको राजनीतिक प्रणालीले दलहरुबीचमा टिकाउ खालको गठबन्धनको माग गर्ने बताएका छन्।
रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक 'सत्ता संघर्ष: ३० वर्षमा २८ सरकारको नालिबेली' विमोचन कार्यक्रममा बोल्दै शनिबार उनले स्थायित्वका निम्ति सो आवश्यक भएको बताए।
'हामीकहाँ निर्वाचनपूर्व बनाइएका अलायन्सहरु नटिक्ने। र निर्वाचन लगत्तै त्यसले बेग्लै कोर्स लिने स्थिति बनेको छ। निर्वाचनमा जनताले गठबन्धनको एउटा मोटामोटी धारणमाथि आधारित भएर भोट हाल्छन्। तर काठमाडौं आइपुग्दा नपुग्दै गठबन्धनहरु भत्किन्छ र फेरि नयाँ ढंगको एउटा कोर्स सुरु हुन्छ भनेदेखि यो अहिलेको हाम्रो निर्वाचन प्रणाली र गठबन्धनहरु टिकाउन हुन नसकेको स्थिति छ', उनले भने।
ज्ञवालीले राजनीतिक स्थायित्वको खोजी कसरी गर्ने भन्ने महत्त्वपूर्ण चुनौती रहेको बताए। 'यसका निम्ति प्राज्ञिक बहसहरुलाई खुला गर्नुपर्छ भन्ने ठान्छु', उनले थपे।
उनले संविधान परिवर्तन गरिहाल्ने, संविधानका कतिपय प्रावधानहरु परिवर्तन गरिहाल्ने बेला हो भन्नेचाहिँ आफूले नठान्ने बताए।
'अहिलेको निर्वाचन प्रणालीले यही भन्छ, यदि राजनीतिक स्थायित्व खोज्ने हो भने दिगो, पोलिसी बेस्ड, उद्देश्य आधारित गठबन्धन गर। जुन कुरा हामीकहाँ करिबकरिब असम्भव जस्तो देखिएको स्थिति छ, अहिलेसम्मको अनुभवहरु हेर्दा। त्यसले गर्दा यो प्रश्नमा घोत्लिनुपर्ने जरुरी छ जस्तो लाग्छ', उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।