पोखरा- गण्डकी प्रदेश सभामा शनिबार सभामुखको निर्वाचन हुने भएको छ।
शनिबार ३ बजे बस्ने प्रदेश सभाको बैठकमा सभामुख चयन गर्नेगरी प्रदेश सभा सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो।
कार्यक्रमअनुसार शनिबार ११ बजेदेखि १ बजेसम्म प्रदेश सभा सचिवालयमा सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ। उक्त समयभित्र दर्ता भएका उम्मेदवारीको १:३० बजे सूची प्रकाशन गर्ने जनाइएको छ।
त्यसैगरी, ३ बजेको बैठकमा उम्मेदवारीको सूचनामाथि छलफल भई निर्णयार्थ प्रस्तुत हुने प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए।
सत्ता गठबन्धनमा गण्डकीमा नेकपा (एमाले)ले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भएको सहमतिअनुसार एमालेका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर शुक्रबार प्रदेश सभाबाट विश्वासको मत पाइसकेका छन्।
गठबन्धनबाट सभामुखमा माओवादीका कृष्णप्रसाद धिताल उम्मेदवार बन्ने भएका छन्। नेपाली कांग्रेसले भने हालसम्म उम्मेदवार तय गरिसकेको छैन।
कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ। साठी सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।