काठमाडौं– नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संविधान बचाउनका लागि विश्वासको मत दिएको बताएका छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद देवले कांग्रेसले विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गुण र दोषका आधारमा भएको प्रष्ट पारे।
सांसद देवले देशको राजनीतिक स्थिती संकटपूर्ण भएको उल्लेख गर्दै संविधान बचाउनुपर्ने राजनीतिक आवश्यकताका आधारमा नेपाली कांग्रेसले परिपक्व निर्णय लिएको दाबी गरे। उनले प्रतिपक्षमा बसेर विश्वासको मत दिनुलाई अन्यथा लिन नहुने बताए।
‘यो मुलुकमा प्रचण्डलाई पुष्पकमल दाहाल बनाउने प्रयत्न भइराखेको छ। हामीले त्यसलाई चिर्न खोजेका हौं’, उनले भने, ‘प्रचण्डलाई प्रचण्डकै रुपमा, युगान्तकारी परिवर्तनको रुपमा चिनाउनका लागि कांग्रेसले विश्वासको मत दिएको हो।’
उनले गिरिजा प्रसाद कोइरालादेखि संविधान बनाउने निर्माणमा प्रचण्डलाई साथमा लिएको स्मरण गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।