काठमाडौं- पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्या विस्तारै घट्दै गएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनासम्मको तथ्यांक अनुसार देशको शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ।
मंसिर मसान्तसमम शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोडले घाटामा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति मंसिर मसान्तसम्म ३४ करोड ६८ लाखले बचतमा रहेको छ।
राष्ट्र अनुसार मंसिर मसान्तसम्म चालु खाता ३७ अर्ब ९१ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ९८ अर्ब ५१ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता मंसिर मसान्तसम्म २९ करोड ७२ लाखले घाटामा रहेको छ।
मंसिर मसान्तसम्म पुँजीगत ट्रान्सफर २५।३ प्रतिशतले कमी आई ३ अर्ब ४७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ६४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ७ करोड रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।