काठमाडौं– बलात्कार आरोप लागेपछि गत असोजमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने शुक्रबार थुनामुक्त हुँदैछन्।
उनलाई २० लाख रूपैयाँ धरौटी लिएर रिहा गर्न बिहीबार उच्च अदालतले आदेश दिएको थियो। अदालतको आदेशसहितको पत्र केन्द्रीय कारागार सुन्धारा पुर्याइएको छ। पत्र पुगेसँगै सन्दीपलाई रिहा गर्ने तयारी गरिएको छ।
जेलर ईश्वरीप्रसाद पाण्डेले सन्दीपको तर्फबाट शुक्रबार धरौटी राखेर अदालतको आदेशसहित कारागार प्रशासनमा उपस्थित हुने जानकारी आएकाले शुक्रबार रिहा हुने नेपाल लाइभलाई बताए।
काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध दिएको पुनरावलोकनको निवेदनमाथि उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा थुनामुक्त गरेर मुद्दाको टुंगो लगाउन आदेश दिएको हो।
न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजालसले यस्तो आदेश गरेको हो। सन्दीप ३ महिना ९ दिनपछि रिहाइ हुन लागेका हुन्।
१७ वर्षीया भनिएकी एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान सन्दीप गत असोज २० गते पक्राउ परेका थिए।
क्रिकेट खेल्न विदेश रहेको अवस्थामा उनीविरुद्ध बलात्कारको उजुरी परेको थियो। कतार एअरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं ओर्लिएका उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो। त्यसपछि उनलाई प्रहरी वृत्त गौशालामा राखिएको थियो।
ती किशोरीले २० भदौमा सन्दीविरुद्ध प्रहरीमा बलात्कारको मुद्दा हालेकी थिइन्। त्यसको १ महिनापछि सन्दीप पक्राउ परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।