धनगढी– सुदूरपश्चिम प्रदेश सरकारमा बिहीबार मन्त्रीहरु नियुक्त भएको विषयमा सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले असन्तुष्टि व्यक्त गरेको छ।
बिहीबार साँझ मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेशप्रमुख देवराज जोशीबाट सपथ ग्रहण गरेसँगै बिना विभागीय दुई प्रदेशमन्त्रीलाई पनि सपथ ग्रहण गराएका थिए।
मन्त्री बन्नेमा नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट र नेकपा एमालेकी सन्तोष कुमारी थापा(शर्मा) छन्।
मन्त्री नियुक्त गर्ने क्रममा आफूहरुसँग छलफल नगरिएको भन्दै नाउपाले असन्तुष्टि व्यक्त गरेको हो। नाउपाका संसदीय दलका नेता रामेश्वर चौधरीले मन्त्रीहरु नियुक्तिमा आफूहरुसँग कुनै छलफल नै नगरेकोमा असन्तुष्टि रहेको बताए।
‘सत्ता साझेदार दल भइसकेपछि हामीहरुसँग पनि छलफल गरिनुपर्थ्यो, तर त्यो भएन। त्यसमा हाम्रो आपत्ति छ,’ चौधरीले भने, ‘त्यसमा हामीले विमति जनाएका छौं। हामी सत्ता साझेदार भइसकेपछि कम्तीमा छलफल हुनुपर्थ्यो।’
सत्ता साझेदार भइसकेपछि मन्त्रालय, मन्त्रीमा आफूहरुको दाबी रहनु स्वभाविक भए पनि एमाले र माओवादी केन्द्रले त्यसप्रति ध्यान नदिएको चौधरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।