काठमाडौं– सामाजिक सञ्जाल टिकटकमार्फत् अनलाइन जुवा खेलाएको आरोपमा चार जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा दाङको राप्ती गाउँपालिका–३ का २१ वर्षीय ऋषि प्रकाश योगी, भक्तपुरको सूर्यविनायक नगरपालिका–१० का २७ वर्षीय कपिल गिरी, भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ का २१ वर्षीय प्रेम कठायत र कैलालीको गौरीगंगा नगरपालिका–६ का २० वर्षीय डिल्लीराज अवस्थी छन्।
उनीहरुले इ–सेवा लगायत अन्य डिजिटल वालेटमा रकम जम्मा गर्न लगाएर आफूले लाभ लिने उद्देश्यले टिकटक लाइभमार्फत् रकमको बाजी राखेर जुवा खेलाएको आरोप छ।
पक्राउ परेकाहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ बमोजिमको कसूरमा अनुसन्धान अघि बढाइएको छ।
पक्राउ परेकामध्ये ऋषि प्रकाशले पब्जी र पब्जी टु नामक टिकटक आईडीहरु खोली इ–सेवा वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाएको पाइएको छ। रकम जम्मा गर्न लगाई एक महिनामा १० दिनको अवधिमा २८ लाख ७३ हजार ३ सय ४५ बराबरको टिकटक लाइभमार्फत् जुवा खेलाइएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले बताए।
कपिल गिरीले पोकर किङ नामको टिकटक आईडीबाट ३ वटा इ–सेवा वालेटमा रकम जम्मा गर्न लगाई १० दिनमै १० लाख ५२ हजार ९ सय ६३ रुपैयाँ बराबरको जुवा खेलाएको पाइएको छ।
प्रेम र डिल्लीराजले प्रेम नामको टिकटक आईडीबाट पछिल्लो ६ दिनमा ९३ हजार २ सय १४ रुपैयाँ बराबरको जुवा खेलाएको अनुसन्धानबाट खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।