काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालुवाटारमा छलफल भएको छ। प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रीपरिषद् विस्तारको गृहकार्य सुरु गरेका छन्। बुधवार प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओली निवास नै पुगेर त्यसबारेमा छलफल गरेका थिए। त्यसपछि बिहीबार सत्ता साझेदार दलहरुको बैठक बस्ने भनिएको थियो।
सत्ता साझेदार दलहरुको बैठक अगाडि प्रधानमन्त्री र एमाले अध्यक्षका बीचमा भेटवार्ता भएको हो। मन्त्रिपरिषद् विस्तारका विषयमा २ जना नेताहरुका बीचमा १ चरणको समझदारी जुटाएपछि सत्ता साझेदार दलको बैठक बोलाउने तयारी भएको हो।
एमालेको सहयोगमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नयाँ प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री प्रचण्डले मंगलबार प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिए।
प्रधानमन्त्री प्रचण्डलाई संसद्को ठूलो दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको छ। प्रमुख प्रतिपक्षी कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएपछि सत्ता साझेदार दलहरुका बीचमा आशंका उब्जिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।