काठमाडौं– लमजुङमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, लमजुङबाट खटिएको विशेष टोलीले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा लमजुङको राईनास नगरपालिका–९ का ४२ वर्षीय बेलराम गुरुङ रहेका छन्। गुरुङले २०७४ मंसिर ११ गते सोही वडाको कुडुले अस्ने ५४ वर्षका हितमान श्रेष्ठलाई चारपाटे दाउरा (काठ)ले टाउकोमा प्रहार गरी हत्या गरेर फरार रहेका प्रहरीले जनाएको छ।
घटनालगत्तै फरार रहेका उनी चितवनमा लुकिछिपि बसेको हुन सक्ने विशेष रुपमा सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। उनलाई लमजुङ प्रहरीको विशेष टोलीले भरतपुर महानगरपालिका–१६ विजयनगरबाट बुधबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनले चितवन बस्दाको समयमा आफ्नो नाम र ठेगाना समेत परिवर्तन गरि बसेका थिए। लमजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई उनीमाथि कर्तव्य ज्यान सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।