धनगढी– अन्तत: सुदूरपश्चिम प्रदेश सभाको सभामुखको निर्वाचन बिहीबार नै हुने भएको छ। सत्तारूढ नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सभामुखको निर्वाचन सार्ने कोशिस गरेपनि अन्तत: बिहीबार नै निर्वाचन हुने भएको हो।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) साथ नपाउने संकेत पाएपछि सत्तारुढ दल एमाले र माओवादीका नेताहरुको अनुरोधमा केहीबेर बैठक सारिएको थियो। उनीहरूले केही दिन निर्वाचन प्रक्रिया सार्न समेत माग गरेका थिए। कांग्रेस र एकीकृत समाजवादी भने बिहीबार नै निर्वाचन हुनुपर्ने पक्षमा थिए।
नागरिक उन्मुक्तिको साथ नपाए सत्तारुढ गठबन्धनबाट उम्मेदवार माओवादीका भीम भण्डारीलाई बहुमत पुग्दैन। नागरिक उन्मुक्तिको सहयोगबिना भण्डारीलाई एमालेका १० र माओवादीका ११ तथा राप्रपाको एक संसद गरी २२ सांसदको साथ रहनेछ।
यता, कांग्रेसका उम्मेदवार मानबहादुर रावलका पक्षमा कम्तीमा कांग्रेसका १९ तथा समाजवादीका ४ गरी २३ जना सांसदको समर्थन देखिएको छ। अहिले एमाले–माओवादीले नागरिक उन्मुक्ति पार्टीलाई फकाइरहेका छन्।
मुख्यमन्त्रीमा भने एमालेका राजेन्द्रसिंह रावल नियुक्त भइसकेका छन्। नागरिक उन्मुक्ति पार्टीले अन्तिम समयमा रावललाई समर्थन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।