काठमाडौं– प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका प्रदेश सभा सदस्य बाबुराम गौतम निर्वाचित भएका छन्। उनी निर्विरोध सभामुख निर्वाचित भएका हुन्।
सत्ता साझेदार दलहरुबीच गत पुस २४ गते भएको सहमतिअनुसार प्रदेश १ को सभामुख माओवादी केन्द्रलाई परेको थियो। सोहीअनुसार, बुधबार गौतमले उम्मेदवारी दिएका थिए। तर, अर्को उम्मेदवारी नपरेपछि गौतम नै निर्विरोध निर्वाचित भएका हुन्।
बिहीबार प्रदेश सभामा एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीले गौतमलाई सभामुखमा निर्वाचित गराउन प्रस्ताव गरेका थिए। साथै, माओवादी केन्द्रका सांसद नारायणबहादुर बुर्जामगरले समर्थन गरेका थिए। एकल उम्मेदवारी भएका कारण ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले उनलाई सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।
मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा गौतम ओखलढुंगा- १ (२) बाट निर्वाचित भएका थिए। उनले बिहीबार नै प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सपथ लिने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।