काठमाडौं– मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न आज सत्ता साझेदार दलहरुको बैठक बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन्।
प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार सत्ता साझेदार दलहरुबीच केन्द्र र प्रदेश सरकार विस्तारबारे बैठकमा छलफल गरिने भएको छ।
पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले सुरुमा सानो आकारको मन्त्रिमण्डल बनाए पनि मन्त्रिपरिषद्ले पूर्णता भने पाएको छैन। कतिपय मन्त्रीहरु बिना विभागीय रहेका छन्। उनीहरुलाई भने आज ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकले जिम्मेवारी तोक्ने तयारी छ।
यस्तै राप्रपा, जसपा र अन्य दलहरु पनि सरकारमा सहभागी भएका छैनन्। संविधान अनुसार २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने प्रावधान छ। आजको बैठकमा सरकारलाई समर्थन गरेका दलहरुको सरकारमा सहभागिताबारे पनि छलफल हुनेछ।
मन्त्रिपरिषद् विस्तार लगायत अन्य विषयमा छलफल गर्न बुधबार प्रधानमन्त्री प्रचण्ड नेकपा एमालेका अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका पूर्व प्रधानमन्त्री ओलीलाई भेट्न बालकोट पुगेका थिए।
दुई नेताका बीचमा लामो छलफलपछि आज दिउँसो ३ बजे सत्ता साझेदार दलहरुको बैठक बोलाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।