काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्न माग गरेका छन्।
राप्रपा नेपालद्वारा ३०१ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले पृथ्वीनारायण शाह कुनै राजनीतिकवाद र विचारभन्दा माथि रहेको भन्दै नेपाल एकीकरणको अभियान एक संस्थासँग मात्रै सम्बन्धित नभई नेपाललाई नाम र पहिचान दिने महान कार्य भएकाले उनलाई सम्मान दिन राज्यले कन्जुस्याइँ गर्न नहुने स्पष्ट पारे।
२०७४ सालमा आफू सरकारमा रहँदा राज्यले नै ओपचारिक रुपमा पृथ्वी जयन्ती मनाइएको स्मरण गर्दै यसपटक पृथ्वी जयन्ती एवं एकता दिवसमा राज्यको उपस्थिति नभएकोप्रति थापाले रोष प्रकट गरे।
‘सरकारले यसपटक विदा दिएता पनि त्यो विदा राजनीतिक स्वार्थ परिपूर्ति गर्ने माध्यमका लागि मात्रै भएको छ, अघिल्ला वर्षजस्तै सरकारी निकाय नेपाल प्रज्ञा प्रतिष्ठानमार्फत सरकारले मनाउने पृथ्वी जयन्ती यसपटक रोकिएको छ,’ उनले भने।
७४ देखि निरन्तर राष्ट्र निर्माताप्रति श्रद्धा अर्पण गर्ने गरेकोप्रति भने थापाले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति धन्यवाद दिए।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं इतिहासविद् डा रमेश ढुंगेल र वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले पृथ्वीनारायणको योगदान र व्यक्तित्वमाथि प्रकाश पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।