सुर्खेत– कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन्। कर्णाली प्रदेश प्रमुख तिलक परियारले शर्मालाई बुधबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।
नेकपा माओवादी केन्द्र र नेकपा एमालेसहित दलहरुको समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गरेका शर्मा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्।
कुल ४० प्रदेश सभा सदस्य रहेको कर्णालीमा प्रदेश सरकार गठनका लागि २१ जनाको समर्थन आवश्यक पर्छ। शर्माले २५ जना सांसदसहित मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए।
शर्मालाई माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका १–१ जना प्रदेश सभा सदस्यले समर्थन गरेका छन्।
यसअघि केन्द्रीय स्तरमा कर्णाली प्रदेशमा माओवादी पूर्णकाल (५) वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। तर, प्रदेशस्तरमा भने माओवादी र एमालेले आधा–आधा कार्यकाल प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।