काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न निर्देशन दिएको बताएका छन्।
नेकपा एमालेबाट निर्वाचित सांसद कोइरीलाई पक्राउ गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिइसकेको उनले बताए। बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा उनले उक्त कुरा बताएका हुन्।
फरार भनिएका सांसद कोइरी मंगलबार प्रतिनिधि सभा बैठकमा सहभागी भएका थिए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएका थिए।
सांसद कोइरीमाथि कर्तव्य ज्यानको मुद्दा लागेको छ। त्यसयता उनी फरारको सूचीमा छन्। उनलाई सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न भएको आरोप लागेको छ।
मंगलबार प्रतिनिधि सभा बैठकमा गृहमन्त्री र ‘फरार’ सांसद सँगसँगै उपस्थित भएको भन्दै लामिछानेको आलोचना भइरहेको छ।
विश्वासको मत दिने बेला कोइरी संसद् भवनमा उपस्थित भएको भन्ने सञ्चारमाध्यमबाट जानकारी पाएपछि आईजीलाई फोन गरेर तत्काल पक्राउ गर्न निर्देशन दिइएको लामिछानेले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।