काठमाडौं– पहिलो संस्करणको नेपाल टी २० लिगको उपाधि लुम्बिनी अल स्टार्सले हात पारेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै उपाधि हात पारेको हो। उपाधिसहित लुम्बिनीले ५५ लाख रूपैयाँ नगद हात पारेको छ।
उपविजेतामा चित्त बुझाएको विराटनगरले ३० लाख पायो। लुम्बिनीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो। विरानगरका लागि अर्जुन साउदले सर्वाधिक ३४ रन बनाए भने पृथु बास्कोटाले २३ रन जोडे। त्यस्तै हुसेन तालतले १३ रन बनाए।
विराटनगरले १०९ रन समेट्ने क्रममा लुम्बिनीका सागर ढकाल र हरमित सिंहले समान दुई–दुई विकेट लिए भने किशोर महतो र विपुल शर्माले समान एक–एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ राजेको लुम्बिनीले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १३३ रन बनाएको थियो।
लुम्बिनीका लागि लाहिरु मिलन्थाले सर्वाधिक ४१ रन जोडे भने हरमित सिंहले ३० रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरीले २० तथा इशान पाण्डेले १६ रन बनाए।
विरानगरका नन्दन यादव र राज नाननले समान दुई–दुई विकेट लिए भने सूर्य तामाङ, कप्तान रोहितकुमार पौडेल, हुसेन तालत र किओन जोसेफले समान एक–एक विकेट लिए। प्रतियोगितामा जनकपुर रोयल्स तेस्रो भयो। उसले १० लाख पायो। त्यस्तै काठमाडौं नाइट्स चौथो भयो। काठमाडौंले पाँच लाख पायो।
पुस ९ देखि सुरु भएको प्रतियोगितामा काठमाडौं नाइट्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स, फार वेस्ट युनाइटेड, विराटनगर सुपर किंग्स र पोखरा एभेन्जर्स गरी ६ टोली सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।