काठमाडौं– नेपाल धितोपत्र बोर्डले तीन ब्रोकर कम्पनीलाई नगद जरिवाना गरेको छ।
बोर्डले सनी सेक्युरिटीज, इम्पेरियल सेक्युरिटीज र त्रिशुल सेक्युरिटीजलाई नगद जरिवाना गरेको हो। केयर रेटिङ नेपाललाई भने स्पष्टीकरण सोधिएको बोर्डका एक अधिकारीले जानकारी दिए।
शनी सेक्युरिटीज कम्पनीले तोकिएको समयमा प्रतिवेदन पेश नगरेको भन्दै धितोपत्र बोर्डले १० हजार रुपैयाँ जरिवाना गराएको छ। यसैगरी, इम्पेरियल सेक्युरिटीजले त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेश नगरेको भन्दै ७५ हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको हो।
बोर्डले त्रिशुल सेक्युरिटीजलाई पनि त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेश नगरेकोमा ७५ हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको छ।
यस्तै, रेटिङ एजेन्सी केयर रेटिङ नेपाललाई स्पष्टीकरण सोधिएको छ। कम्पनीले रेटिङ नियमावली २०६८ को उल्लंघन गरी आफ्नो मुख्य सेयरधनीको रेटिङ गरेको भन्दै ऐन २०६३ को दफा १०१ को ७ अनुसार हदैसम्मको कारबाही किन नगर्ने भनी सफाई पेश गर्न बोर्डले निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।