काठमाडौं- मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा धेरै चुनौतीहरु रहेको भन्दै सबैसँग मिलेर त्यसलाई समाधान गर्ने बताएका छन्।
आफ्नो पार्टीको एकल सरकार नभएकोले भन्दै उनले चुनौती समाधान र भ्रष्टाचारीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे।
बुधबार मुख्यमन्त्री नियुक्त भएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले अहिले दलहरुका बीचमा मन्त्रालय बाँडफाँटको सहमति भइनसकेको बताए।
‘पहिले मुख्यमन्त्रीको नियुक्त लिऔँ, त्यसपछि शपथ ग्रहण हुन्छ, त्यसपछि हामी बाँडफाँट गर्छौँ। दलको नेता राखेर छलफल गर्छौँ’, उनले भने।
मन्त्रालयको संख्या थपघट नहुने उनले स्पष्ट पारे। उनले भने, ‘मन्त्रालयको संख्या १० वटा छ, १० वटा नै रहन्छ।’
यादवले बुधबार मात्रै मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए। उनले एमाले (२३), जनता समाजवादी पार्टी (१६), जनमत पार्टी (१३), माओवादी केन्द्र (७), राष्ट्रिय प्रजातन्त्र पार्टी (१), नागरिक उन्मुक्ति पार्टी (१) र स्वतन्त्र सांसदहरु सुरिता साह र अनुरुध सिंहको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। लगत्तै मुख्यमन्त्री नियुक्त भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।