काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने दल पनि विपक्षी दल हुने तर्क गरेका छन्। उनले चर्चा गरिए जस्तो विश्वासको मत दिएपछि सत्ताधारी नहुने व्याख्यालाई आफूले नबुझेको पनि बताए।
‘विश्वासको मत दिइसकेपछि सत्ताधारी पार्टी हुन पुग्दछ? यो कहाँको व्याख्या हो मैले बुझ्न सकिनँ’, नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित सांसदहरुलाई अनेरास्ववियूको बधाई तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै बुधबार उनले भने।
आफ्नो तर्कका लागि उनले २०५१ सालको सन्दर्भ अगाडि सारे। ‘हाम्रै देशको सन्दर्भमा भन्ने हो भने २०५१ सालमा जतिखेर हाम्रो पार्टी सरकारमा थियो। त्यो सरकारको म आफैं उपप्रधानमन्त्री थिएँ। रक्षा र परराष्ट्रमन्त्री थिएँ। अहिलेका एमालेका नेता आफैं गृहमन्त्री हुनुहुन्थ्यो। त्यो अल्पमतको सरकारलाई नेपाली कांग्रेसले के गरेको थियो भन्ने कुरालाई स्मरण गर्नुपर्दैन?’, उनको प्रश्न थियो।
त्यतिबेला पनि नेपाली कांग्रेसले आफूहरुको अल्पमतको सरकारलाई विश्वासको मत दिएको उनले स्मरण गरे। ‘विश्वासको मत नदिएको भए सरकार गिर्ने थियो र चुनावमा जानुपर्ने हुन्थ्यो। अनि विश्वासको मत दिए पनि नेपाली कांग्रेस प्रतिपक्षमै बसेको थियो। हाम्रो विगतको अनुभव छैन? अनि के यो नयाँ संविधानले त्यो व्याख्या गलत हो भन्ने कुरालाई अगाडि सारेको छ?’, उनले थपे।
त्यतिबेला मनमोहन अधिकारीले अल्पमतको सरकारको नेतृत्व गरिसकेपछि २०५१ मा विश्वासको मत लिँदा नेपाली कांग्रेसले विश्वासको मत दिएको थियो। तर प्रतिपक्षी भूमिका खेलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।