काठमाडौं– काठमाडौंको इन्द्रेणी कम्प्लेक्सको पार्किङमा विस्फोटक पदार्थ राखेर फरार भएका ललितपुर गोदावरी १० का महेश केसी खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।
उनले गत वैशाख १३ गते अन्दाजी १२ः३० बजेको बिजुलीबजारस्थित इन्द्रेणी कम्प्लेक्सका सञ्चालकलाई फोनमार्फत फिरौती रकम माग गरेका थिए। सो रकम नदिएमा सञ्चालकको घर र उनकाे व्यापारिक भवन ‘इन्द्रेणी कम्प्लेक्स’ समेत विस्फोट गर्ने धम्की दिएका थिए।
उनले फिरौती रकम नपाए पछि खत्रीले अन्य व्यक्तिहरूसमेत मिलाएर समूह बनाइ इन्द्रेणी कम्प्लेक्सको तल्लो बेसमेन्ट पार्किङमा विस्फोटक पदार्थ राखेको पाइएको प्रहरीले जनाएको छ।
प्रहरी वृत्त नयाँ बानेश्विरबाट खटिएको नेपाल प्रहरीको टोलीद्वारा नेपाली सेनाको बम डिस्पोजल टोलीसँग समन्वय गरेपश्चात् सेनाको टोली घटनास्थलमा आएर उक्त विस्फोटक पदार्थलाई डिस्पोज गरेको थियो।
प्रहरी वृत्त नयाँ बानेश्वथरबाट घटनाको सम्बन्धमा ‘विस्फोटक पदार्थ ऐन’ कसूर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धानरत रहेको अवस्थामा घटनामा संलग्न रही सोही दिनबाट फरार रहेका व्यक्तिहरूको पहिचान तथा खोजतलास गर्ने क्रममा उनलाई प्रहरीले सोमबार दिउँसो ५ पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर ललितपुरसमेतको समन्वयमा जिल्ला ललितपुर गोदावरी नगरपालिका वडा १० मा पक्राउ गरेको हो।
खत्रीलाई विस्फोटक पदार्थ ऐन कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त नयाँ वानेश्वरबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।