काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी–२० लिग क्रिकेटको उपाधिका विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार्सबीच भिडन्त हुने भएको छ।
मंगलबार सकिएको दोस्रो क्वालिफायरमा विराटनगरले जनकपुर रोयल्सलाई ३९ रनले हराएसँगै लुम्बिनीसँगको भेट पक्का गरेको हो।
टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। एक सय ६८ रनको लक्ष्य पछ्याएको जनकपुर १९ ओभर १ बल खेल्दै १२८ रनमै समेटियो।
सुरुवाती ब्याटिङमा उत्रिएको विराटनगरका लागि ओपनर गौरांशु शर्माले ४१ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन जोडेका थिए। अर्का ओपनर अर्जुन साउदले ३५ रन बनाएका थिए। विराटनगरका लागि राज ननन ३३, हुसेन तलात ३१, विवेक यादव ६, अमर रौतेला ६ र रोहित पौडेलले १ रन बनाएका थिए।
बलिङमा जनकपुरका जितेन्द्र मुखियाले २ विकेट लिए। सराफउद्धिन असरफ, समिमुल्लाह सेनवारी र ललित राजवंशीले समान १–१ विकेट लिएका थिए।
जनकपुरतर्फको ब्याटिङमा चाड्विक वाल्टनले सर्वाधिक ५१ रन बनाए। ट्रेभोन ग्रिफिफ्तले ३४ रन, खडक बोहोराले १४ रन जोड्नुबाहेक अन्यले दोहोरो अंक बनाउन सकेनन्।
बलिङतर्फ विराटनगरका कियोन जोसेपले सर्वाधिक ३ विकेट लिए। नन्दन यादव र राज नननले समान २–२ विकेट लिए। हुसेन तलात र सुर्य तामाङले १ –१ विकेट हात पारे।
अब बुधबार फाइनलका लागि विराटनगरले लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ। लुम्बिनी यसअघि नै पहिलो क्वालिफायरमा आइतबार जनकपुरलाई नै हराएर फाइनल पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।