काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा २७० जना सांसदमात्र उपस्थित भएका छन्।
दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा नेपाली कांग्रेसका किशोरसिंह राठौर, अम्बिका बस्नेत अनुपस्थित रहे।
त्यस्तै, सांसद मनोरम शेरचन पनि अनुपस्थित थिए। त्यसैगरी, जेष्ठ सदस्यको रुपमा रहेका राप्रपाका सांसद पशुपतिशमशेर राणाले पनि मत दिन पाएनन्।
साथै, कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेकाले संसद्मा उपस्थित भएनन्। विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर हुदाँ उनी निलम्बनमा रहेका छन्। उनको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ।
फरार सांसदले पनि दिए विश्वासको मत
कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त रहेका नेकपा (एमाले)का सांसद लक्ष्मी महत्तो कोइरीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका छन्। कैलाली घटनामा थमन विक लगायतको हत्यामा संलग्न भएको भनि उनीमाथि जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको छ। प्रहरीले उनलाई फरार अभियुक्तको रुपमा राखेको छ।
कोइरीलाई पक्राउ गर्न सर्कुलर गरिएको छ। तर, उनी संसदमा उपस्थित हुँदै सरकारलाई विश्वासको मत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।