काठमाडौं– नेपाल प्रहरीमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने विभिन्न पदका पाठ्यक्रम परिमार्जन गर्ने तयारी सुरु गरिएको छ।
प्रहरी प्रधान कार्यालय नक्सालमा मंगलबार खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गरिने विभिन्न पदको पाठ्यक्रम निर्माण तथा परिमार्जनसम्बन्धी पदपूर्ति समितिको बैठकसमेत बसेको छ ।
लोकसेवा आयोगका सदस्य माधव बेल्वासे, गृह सचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, लोकसेवा आयोगका सहसचिव, प्रहरी नायव महानिरीक्षकहरू, लोकसेवा आयोगका उपसचिवलगायत अन्य वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिमा बठैक बसेको थियो।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक दीपक थापाले पाठ्यक्रम निर्माण तथा परिमार्जन समिति गठन, पाठ्यक्रम परिमार्जनसम्बन्धी कानुनी प्रावधानहरू, नेपाल प्रहरीमा जनपद तथा प्राविधिक प्रहरी समूहतर्फ विभिन्न पदको पाठ्यक्रमसम्बन्धी संख्यात्मक विवरण, मौजुदा पाठ्यक्रममा भएका व्यवस्था र परिमार्जन गरिएका व्यवस्थाहरू लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए।
सो क्रममा उनले लोक सेवा आयोगको ‘सुरक्षा निकाय, अन्य सङ्घीय सरकारी सवा र संगठित संस्थाका पदपूर्तिका लागि दिइने परीक्षाको पाठ्यक्रमसम्बन्धी मापदण्ड, २०७९’ व्यवस्था भए बमोजिम सबै पदको पाठ्यक्रमको ढाँचालाई एकरूपता कायम गरिएको बताए।
उक्त बैठकमा जनपद तथा प्राविधिक प्रहरी समूहतर्फका विभिन्न पदहरूको पाठ्यक्रम निर्माण तथा परिमार्जन सम्बन्धमा छलफलसमेत भएको थियो।
यसअघि लिएका परीक्षाहरूमा ठूलो संख्यामा परीक्षार्थीहरू असफल (फेल) हुने गरेको, माग बमोजिम उतीर्णसमेत नभएको भन्दै पाठ्यक्रम नै परिमार्जन गर्न लागिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।