काठमाडौं– प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने क्रममा दौरासुरुवाल लगाएका पुष्पकमल दाहाल प्रचण्डले सदनबाट बचाउ गरेका छन्। आफ्नो विश्वासको मत माग्ने प्रस्तावमाथि भएको छलफलपछि मंगलबार प्रतिनिधि सभामा जवाफ दिने क्रममा उनले आफूमाथिको आग्रहदेखि चुनावी नतिजासम्मलाई जोडेर दौरासुरुवालको बचाउ गरेका हुन्।
‘यो प्रतिस्पर्धाको शान्तिपूर्ण राजनीतिमा आएपछि आम जनताको मनोविज्ञान र मनोभावनालाई सम्बोधन गर्न सकिएन भने क्रान्तिकारिताको प्रदर्शनले निर्वाचनमा परिणाम राम्रो दिएको देखिनँ मैले। लाउनेहरुले जितेका छन्, नलगाउनेहरुले हारेका छन् भनेपछि त,’ हाँस्दै उनले भने।
प्रचण्डले सपथ ग्रहण गर्नुअघि आफूलाई राष्ट्रपतिले पनि दौरासुरुवालकै लागि आग्रह गरेको खुलासा गरे। ‘अस्ति प्रधानमन्त्री मनोनित हुँदै गर्दा त्यहाँ चर्चा चल्यो। राष्ट्रपतिजीले पनि भन्नुभयो, तपाईंलाई दौरासुरुवालमा हेर्न मन छ मलाई। अरु सत्ता साझेदार दलहरुले पनि भन्नुभयो। केपी ओलीजी, रवि लामिछानेजी, हाम्रै पार्टीका नारायणकाजी श्रेष्ठ सबैले भन्नुभयो- भोलि त तपाईं सपथ गर्ने बेलामा दौरासुरुवाल नै लगाउनुपर्यो भन्नुभयो,’ उनले भने।
उनले आफू कहिल्यै दौरासुरुवालको विरोधमा नरहेको र आफ्नो पार्टीका मन्त्रीहरुलाई पनि जे रुचि हुन्छ, सोही पोसाक लगाउन भनेको उनले बताए। र आफैं पनि कुनै दिन दौरासुरुवाल लगाउने गरी उपयुक्त समयको खोजीमा रहेको सुनाए।
उनले दौरासुरुवाल लगाउने समाचार सार्वजनिक भएपछि आएका ‘कमेन्ट’लाई हेरेर पनि निर्णय गरेको बताए। ‘मैले हेरेँ, कति नेगेटिभ कमेन्ट आउँछ, कति पोजिटिभ कमेन्ट आउँछ। नेगेटिभ कमेन्ट एउटा पनि देखिनँ। पोजिटिभ मात्रै देखेपछि यो निर्णय त अब मैले लिनैपर्ने भयो। जनअभिमत अनुसार पनि मैले लिनै पर्ने भयो भनेर मैले लगाएको मात्रै हो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।