काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीकापुर हत्याकाण्डका अभियुक्त रेशम चौधरीमाथि अन्याय भएको बताएका छन्। मंगलबार प्रतिनिधि सभामा विश्वासको मतमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले रेशम चौधरीका विषयमा आफू गम्भीर भएको बताए।
नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रञ्जिता श्रेष्ठले रेशम चौधरीलगायत थारु राजबन्दीको रिहाइ नहुँदासम्म आफूहरु सरकारमा सहभागी नहुने बताएकी थिइन्। श्रेष्ठले उठाएको प्रश्नबारे जवाफ दिँदै प्रचण्डले भने, ‘नागरिक उन्मुक्ति पार्टीका तर्फबाट माननीय रञ्जिता श्रेष्ठले गम्भीरता र मार्मिकताको साथ उठाउनु भएको छ। मलाई लाग्छ, यो सम्मानित सदनले नै त्यसको गम्भीरता, त्यसको मार्मिकता र संवेदनशीलतालाई आत्मसाथ गरेको छ। हामीले पहिले पनि रेशम चौधरी त्यो घटनामा संग्लग्न हुनुहुन्थेन भनेका छौं। मैले त यो दोस्रोपटक प्रधानमन्त्री हुँदा रेशमलाई भेटेरै पनि उहाँको कुरा सुनेको थिएँ। त्यो नेपाली मिडियामै पनि निकै चर्चा पनि भएको थियो। मैले सार्वजनिक समारोहमा पनि रेशम चौधरीलाई वास्तवमा अन्याय भएको छ। र त्यो अन्यायबाट उहाँलाई न्याय दिनुपर्छ भन्ने कुरा भनेको पनि थिएँ।’
प्रधानमन्त्री प्रचण्डले चौधरी लगायत तराई–मधेसका राजनीति दलहरुसँग विगत सरकारले सहमति समझदारी गरेअनुसार काम गर्ने बताए। उनले सदनमार्फत् नै कानुन कानुन निर्माण गरी रेशम लगायतका बन्दीहरुलाई छुटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।