काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई विश्वासको मत दिन सांसदहरुलाई ह्वीप लगाएको छ।
कांग्रेस संसदीय दलले सबै सांसदलाई विश्वासको मत प्रस्तावको पक्षमा मतदान गर्न भनेको हो।
मंगलबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन्। प्रस्तावमाथि छलफलमा भाग लिँदै कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले विश्वासको मतको पक्षमा मतदान गर्ने घोषणा गरेका थिए।
त्यसअघि कांग्रेस पदाधिकारी, केन्द्रीय कार्यसम्पादन र संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको थियो। विश्वासको मतको पक्षमा उभिने संसदीय दलको बैठकको निर्णयमा कांग्रेसका ५ जना नेता (सांसद)हरुले लिखित फरक मत राखेका थिए।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी र प्रदीप पौडेलले विश्वासको मतको पक्षमा उभिने निर्णयमा लिखित असहमति जनाएका थिए।
तर, संसदीय दलले विश्वासको मतको पक्षमा ह्वीप लगाउने निर्णयमा भने महामन्त्रीद्वय थापा र शर्मासँगै नेताहरु सिंह, केसी र पौडेलले पनि हस्ताक्षर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।