काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेको मंगलबारको प्रतिनिधि सभाको बैठकमा दुई ठूला पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका नेताबीच संसद् विघटनको विषयलाई लिएर सवाल–जवाफ भएको छ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्ताव पेस गरेपछि संसद्लाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिनिधि सभा पूरा कार्यकाल चल्नुपर्ने भन्दै विघटन गर्न नमिल्ने बताए।
देउवापछि बोल्न आएका नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले २०१७ सालदेखिको इतिहास स्मरण गराउँदै नेपाली कांग्रेसले संसद् विघटनको ‘सुरुवात’ गरेको टिप्पणी गरे।
उनले २०४८ साल र २०५८ सालमा आफूले नभइ नेपाली कांग्रेसले विघटन गरेको कुरा संसद्मा सुनाए। उनले २०५८ सालमा विघटन गर्ने कुरा आफूले सर्मथन गरेको बताए।
सुरुमा देउवाले ओलीप्रति लक्षित गर्दै विघटन गर्ने कुरा संविधान विपरीत हुने टिप्पणी गरेका थिए। २०७४ सालको निर्वाचनपछि गठन भएको संसद् ओलीले २०७७ जेठ र २०७८ जेठमा विघटन गरेका थिए। संसद् विघटन गर्ने २–२ पटकको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएको थियो। उक्त विघटनलाई अरु दलले प्रतिगनम भन्दै आएका थिए।
सोमबार प्रतिनिधि सभाको पहिलो बैठकमा भाग लिँदै ओलीले आफ्नो विघटनको बचाउ गरेका थिए। उनले प्रतिनिधि सभाबाट नयाँ जनादेशका लागि विघटन गरेको र त्यो संविधानसम्मत भएको दाबी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।