काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने घोषणा गरेका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसको तर्फबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिने घोषणा गरेका हुन्।
देउवाले सरकारको काम कारबाही कस्तो रहन्छ र जनताको सवालमा सार्थक पहल हुन्छ कि हुँदैन त्यसको काम कारबाहीको आधारमा सर्मथन र विरोध गर्ने बताए।
‘हामीले आत्मसाथ गरेको शासन व्यवस्था बहुदलीय व्यवस्थामा आधारित हो’, उनले भने ‘सरकारलाई जनता र संसद्प्रति उत्तरदायी बनाउन आवश्यक छ। प्रभावकारी विपक्षको अभावमा सत्तापक्ष आफ्नो भूमिकाबाट विमुख हुनसक्छ।’
संसद्मा प्रभावकारी प्रतिपक्षको अभावमा लोकतन्त्र कमजोर हुने भन्दै उनले प्रतिपक्षमा बस्ने तर सरकारलाई पनि उसको कामको आधारमा सकारात्मक सहयोग गर्ने बताए।
नेपाली कांग्रेस संवाद, सहमतिका आधारमा अघि बढ्ने कुरामा विश्वास गर्दै आएको भन्दै उनले संविधान निर्माणका क्रममा धेरै मतभेद रहँदा पनि मिलेर संविधान निर्माण गर्न सफल भएको सुनाए।
उनले अहिलेको परिस्थिति पनि निकै जटिल भएकाले सबै राजनीतिक दलहरुका बीचमा सहमति र सहकार्य आवश्यक रहेको उल्लेख गरे। सरकारका काम कारबाही सकारात्मक हुने कामना गर्दै उनले विकास गर्ने सबैको साझा लक्ष्य भएकाले त्यसमा सरकारले काम गर्नुपर्ने बताए।
मुलुकको अर्थतन्त्रमा देखिएको समस्यामा सरकारले विशेष ध्यान दिनुपर्ने भन्दै देउवाले प्रतिनिधि सभा विघटन हुन्छ भन्नुभन्दा पूर्ण कार्यकाल चल्न दिनुपर्छ भन्ने मनसाय राख्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।