काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विश्वासको मत माग्दै सबै मिलेर अघाडि बढ्नु पर्नेमा जोड दिएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले लोकतान्त्रिक र वामपन्थी शक्तिहरु नै मिलेर देशमा परिवर्तन भएको बताए। उनले १०४ वर्षे राणा शासन र राजतन्त्रको अन्त्य पनि सहमति र सहकार्यमार्फत भएको बताए।
‘हामी मिल्दा देश अघाडि गएको छ। नमिल्दा देश संकटतर्फ गएको छ’, उनले भने। उनले राष्ट्रिय एकताका साथ अघि बढ्ने बताए।
‘आज परिस्थितिवश तेस्रोपटक प्रधानमन्त्रीको रुपमा विश्वासको मतका लागि अनुरोध गर्न यो सम्मानित सदनको रोस्ट्रममा उभिएको छु। मैले भनी नै हालेँ, म यसपल्ट फरक संकल्पका साथ संसद् सामु उभिएको छु’, उनले भने।
प्रचण्ड गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए। उनले ११ गते शपथ लिएका थिए। प्रधानमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।
एमालेको प्रमुख सहयोगमा प्रधानमन्त्री भएका उनले कांग्रेस लगायतका दलहरुबाट पनि विश्वासको मत पाउने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।