काठमाडौं- एमाले त्याग गरेर मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्।
भुसाल निकट स्रोतका अनुसार, एकीकृत समाजवादीको तर्फबाट पहिल्यैदेखि उनलाई पार्टी प्रवेशको लागि आग्रह हुँदै आएको भए पनि सो पार्टीले पुस २१ मा कार्यदल गठन गरेपछि औपचारिक प्रस्ताव र प्रक्रिया सुरु भएको थियो।
‘उहाँ (घनश्याम भुसाल) पहिल्यैदेखि वाम एकताको पक्षधर हो। त्यसका लागि उहाँले बोल्दै र लेख्दै आउनुभएको छ। तर नेताको टाउको जोड्ने होइन, सैद्धान्तिक र वैचारिक मान्यतामा प्रष्ट भएर आधारभूत विषय टुंग्याएर एकता हुनुपर्छ भन्ने उहाँको मान्यता हो’, उनले भने।
भुसालले एकीकृत समाजवादीको एकता कार्यदललाई कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण र एकीकरणका लागि प्रस्ताव पनि पठाएका छन्।
‘सबैकुरा सकारात्मक रुपमा अगाडि बढेको छ। यो हप्ताभित्रै प्रवेश गर्नका लागि एकीकृत समाजवादीको जोड छ। सायद बिहीबार वा शुक्रबार प्रवेश हुनसक्छ’, उनले भने।
एकीकृत समाजवादीमा भुसालले कुन पद पाउने भन्ने विषयमा भने कुराकानी नभएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।