काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई विश्वासको मत दिने भएको छ।
लोसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री प्रचण्डले मंगलबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दा आफ्नो पार्टीले पक्षमा मत निर्णय गरेको जानकारी दिए।
प्रतिनिधि सभाको आज (मंगलबार), दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै छन्।
सरकार निर्माणको छलफलमा सहभागी नभएको लोसपाले पनि सरकारलाई विश्वासको मत दिने निर्णयगरेसँगै प्रधानमन्त्री प्रचण्डलाई झण्डै दुई तिहाइ मत मिल्ने देखिएको छ।
प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा सहभागी नभएको एकीकृत समाजवादीले पनि विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको छ।
प्रधानमन्त्री प्रचण्डले १६९ जना सांसद्को समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए। नेकपा एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्तिका ४ सांसदले प्रचण्डलाई समर्थन गरेका थिए। यस्तै, स्वतन्त्र सांसदहरू प्रभु साह र अमरेशकुमार सिंहले पनि विश्वासको मत दिँदै छन्।
१० सिट रहेको एकीकृत समाजवादी र ४ सिट रहेको लोसपाले विश्वासको मत दिने भएपछि सरकारको पक्षमा दुईतिहाइ पुग्छ। २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८३ सदस्य (सांसद) चाहिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।