काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसद्मा विश्वासको मत लिँदैछन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसहित केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन्।
संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र संसद्बाट प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ। प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
एक महिना नपुग्दै उनले विश्वासको मत लिने भएका छन्। यसअघि सोमबार बसेको संसद् बैठकमा उनले संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई विश्वासको मत दिनका लागि अनुरोध गरिसकेका छन्।
सोमबार बेलुका नै प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर उनले विश्वासको मत दिन अनुरोध गरेका थिए। २७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासको मतका लागि १३८ सांसदको समर्थन आवश्यक पर्छ।
शेरबहादुर देउवाले पनि सोमबार बेलुकाको छलफलमा विश्वासको मत दिने आश्वासन दिएका छन्। यता विश्वासको मत दिने वा नदिने भन्नेबारे कांग्रेसले आज बिहान बस्ने बैठकले औपचारिक निर्णय गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।