काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारको एकताका आधार भनेको न्यूनतम साझा कार्यक्रम र नीतिगत प्राथमिकता रहेको बताएका छन्।
सोमबार सरकारका न्यूनतम साझा कार्यक्रमको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी भिन्नभिन्न पृष्ठभूमि र भिन्नभिन्न राजनीतिक अजेण्डाहरु हुँदाहुँदै पनि साझा कार्यक्रममा प्रतिवद्ध हुँदैछौं। हाम्रो एकताको आधार भनेकै न्यूनतम साझा कार्यक्रम र नीतिगत प्राथमिता नै हुन।’
उनले आफूले सचिवहरुसँग समेत छलफल गरि अघि बढेको दाबी गरे। उनले भने,‘सबै मन्त्रालयलाई ठोस कार्यक्रमसहित अघि बढ्ने कुरा गरेका छौं। प्रधामन्त्रीमा ठूलो दलको हैसियतले नेकपा एमालेले दायाँबायाँ हुँदैन भनेर प्रतिवद्धता जनाएको छ।’
अध्यक्ष प्रचण्डले विभिन्न पृष्ठभूमिबाट आएका दलहरुसहित सरकार बनेको बताउँदै जनमत अनुसार नै यो सरकार अघि बढ्ने बताए। उनले नीतिगत रुपमा प्राथमिकतामा परेका कार्यक्रमहरुले स्पष्ट पारेको र यसलाई कार्यान्वयन हुनेमा ढुक्क हुन आग्रह गरे।
उनले कर्मचारीतन्त्रलाई राजनीतिक खिचातानीबाट मुक्त रही काम गर्न निर्देशन दिए। प्रचण्डले कसैको दबाब, प्रभाव र प्रलोभनमा नपरिकन काम गर्न अनुरोध गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।