काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका छन्। उनी देउवासँग विश्वासको मत माग्न पुगेका हुन्।
देउवा कांग्रेस संसदीय दलको नेता समेत हुन्। प्रधानमन्त्री प्रचण्डले मंगलबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्। विश्वासको मत लिने पूर्वसन्ध्यायनले उनले प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेसका सभापतिलाई भेटेका हुन्ऽ
कांग्रेससँग प्रतिनिधि सभामा ८८ सांसद छन्। प्रचण्ड पुस १० गते कांग्रेससँगको गठबन्धन त्यागेर एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। त्यसपछि देउवा र प्रचण्डको सम्बन्ध चिसिएको छ।
कांग्रेसले भने प्रचण्डलाई विश्वासको मत दिने/नदिने निर्णय गरिसकेको छैन। सोमबार बेलुका मात्र सभापति देउवाले आफ्नो पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका थिए। तर, केही निर्णय भएन।
प्रचण्डलाई विश्वासको मत दिने/नदिने विषयमा निर्णय गर्न कांग्रेसले मंगलबार बिहान संसदीय दलको बैठक बोलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।