काठमाडौं– प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्। आइतबार मुख्यमन्त्री नियुक्त भएका उनले सोमबार दिउँसो प्रदेश प्रमुख परशुराम खापुङ समक्ष शपथ लिएका हुन्।
कार्कीले आइतबार मात्रै एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। ९३ सदस्यीय प्रदेश सभामा उनलाई ६० सांसदले समर्थन गरेका हुन्।
आइतबार साँझ नै सत्ता साझेदार दलहरुबीच भएको सहमतिअनुसार प्रदेश १ को मुख्यमन्त्री पूर्णकार्यकाल एमालेलाई नै दिने सहमति भएपछि प्रदेश १ सभाका माओवादी सांसदहरु आक्रोशित भएका छन्। उनीहरुले आलोपालो सरकारको नेतृत्व गर्न पाउनुपर्ने बताएका छन्। त्यसको असर सोमबारको मन्त्रिपरिषद् गठनमा पनि प्रकट भएको छ।
कार्कीले माओवादी बाहेककै १–१ जना समेटेर मन्त्रिपरिषद् गठन गरेका छन्।
उनले एमालेका तीलकुमार मेन्याङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाका निर्मला लिम्बुलाई मन्त्री बनाएका छन्। तर उनीहरुलाई मन्त्रालय तोकिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।