काठमाडौं– सत्ता साझेदार दलहरुले सरकारका प्राथमिकताहरु समेटेर तयार पारेको न्यूनतम साझा कार्यक्रममा गुणस्तरीय शिक्षामा जोड दिने नीतिगत प्राथमिकता समेटिएको छ।
सोमबार सार्वजनिक गरिएको न्यूनतम साझा कार्यक्रमअन्तर्गत सरकारको नीतिगत प्राथमिकतामा गुणस्तरीय शिक्षालाई जोड दिँदै आगामी २ वर्षमा देशलाई पूर्ण रुपमा साक्षर देश बनाउने दाबी गरिएको छ।
सरकारका प्रवक्ता एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको नीतिगत प्राथमिकतामा आगामी २ वर्षमा पूर्ण साक्षर देश घोषणा गर्ने उल्लेख छ। कार्यक्रम सार्वजनिक गर्दै पौडेलले सबै पालिकामा प्राविधिक धारको विद्यालयहरु सञ्चालन गरिने बताए।
प्रवक्ता पौडेलेले शैक्षिक सत्र अगावै विद्यार्थीहरुका हातमा अनिवार्य रुपमा पाठ्यपुस्तक पुर्याइने दाबी गरे। शिक्षण व्यवसायलाई मर्यादित बनाइने, विश्वविद्यालयमा हाल देखा परेका समस्याहरुको तत्काल समाधान गर्ने उल्लेख गरिएको छ।
यस्तै, नीतिगत प्राथमिकतामा निर्वाद पठन पाठनका लागि उपयुक्त वातावरण बनाउने र उच्च शिक्षा अध्ययनका लागि विदेश जानु पर्ने बाध्यकारी कामको अन्त्य गर्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।