काठमाडौं– लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता शरदसिंह भण्डारीले विगतमा भएका भ्रष्टाचार छानबिन गर्न माग गरेका छन्। सोमबार प्रतिनिधिको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले नयाँ र पुराना दुवै दलप्रति एकैपटक अविश्वासको वातावरण बन्ने अवस्था आउन नदिनका लागि सबै मिलेर जनतालाई डेलिभरी हुने काम गर्नुपर्ने बताए।
‘जस जसको कार्यकालमा विगतमा भ्रष्टाचार भएको छ। ती सबै कुरा खोजेर नाङ्गो बनाउने कुरा हो भने हामी सहयोग गर्न तयार छौँ,’ उनले भने, ‘जस जसको कार्यकालमा भएको भ्रष्टाचार हो छानबिन गरौँ। अनि कारबाही पनि गरौँ। सँगै जनतालाई सेवा दिने काम पनि गरौँ।’
उनले अहिलेको परिणामले केही संकेत गरेको भन्दै यसलाई बुझ्न जरुरी हुने बताए। ‘यो निर्वाचनले केही संकेत गरेको छ,’ उनले भने, ‘यसअघि बोल्ने धेरै नेताहरुले पनि यो कुरा स्वीकार गर्नु भएको छ। त्यसैले अब सच्चिन जरुरी छ।’ उनले जनता आक्रोशित र निराश भएको साथै आशा पनि राखेको बताए।
‘आम जनताले आफ्नो प्रतिध्वनी संसदमा सुन्न पाउनुपर्छ। नत्र त्यो संसद्मा नभइ सडकमा आक्रोश भएर आउँछ,’ भण्डारीले भने।
उनले संविधान अधुरो रहेको र अपुरो भएकाले कुरा विगतदेखि नै आफूहरुले राख्दै आएअनुसार अब संविधान संशोधन गरिनुपर्ने बताए। संविधान बनेको ७ वर्ष भयो, तर संविधानले भनेको नागरिकता लगायतका कुरा सम्बोधन हुन नसकेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।