काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले संसद्का नवप्रवेशी दलमा आवेग मात्रै नभएर अग्रजप्रति सम्मानको भाव पनि भएको बताएका छन्।
सोमबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष राउतले आफूहरुमा आवेग मात्रै नभएर अग्रजहरुप्रति सम्मान पनि रहेको बताए।
‘प्रधानमन्त्रीज्यूले हामीलाई स्वागत गर्दै हामीहरुमा आवेग रहेको भन्नुभएको छ। हामीसँग आवेग मात्रै होइन। अग्रजहरुप्रति सम्मान पनि छ,’ राउतले ।
प्रतिनिधि सभामा पहिलोपटक उभिराख्दा आफूलाई नौलो अनुभूति भइरहेको पनि राउतले उल्लेख गरे।
‘यो ठाउँमा उभिराख्दा नौलो अनुभूति भइराखेको छ। जुन ठाउँमा मेरो नाम मात्रै लिन निषेध गरिएको थियो। त्यो ठाउँमा आज आफैं उभिएर बोल्न पाउँदा नौलो अनुभूति भइराखेको छ,’ राउतले भने, ‘लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतलाई सम्मान गर्न चाहन्छु।’
अध्यक्ष राउतले यो देश निर्माणका लागि तरवारका धार मात्रै होइन, बिसे नगर्चीको सियोलाई पनि सम्झिने चाहेको उल्लेख गरे।
राउतले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अग्रजहरुले गरेको योगदानको सम्मान गर्नुपर्ने बताए।
राउतले देशको अखण्डताको रक्षाका लागि संघीयता आवश्यक रहेको बताए। ‘यो देशको अखण्डताको लागि पनि संघीयता आवश्यक छ भन्ने जीवित साक्षी प्रमाण म छु,’ राउतले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।