काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्।
सोमबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले परिवर्तनको महसुस हुनेगरी काम गर्न प्रधानमन्त्रीलाई शुभकामना दिए।
‘पुष्पकमल दाहाल प्रचण्डजी प्रधानमन्त्री नियुक्त हुनुभएको छ। उहाँलाई बधाई छ,’ नेपालले भने, ‘उहाँले नयाँ काम गर्ने, आमुल परिवर्तन गर्ने भनेर भन्नुभएको छ। परिवर्तनको महसुस हुनेगरी काम अगाडि बढोस्। उहाँको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु।’
देशमा सबैले राजनीतिक स्थायित्वको आशा गरेको बताउँदै अध्यक्ष नेपालले आफूहरुले देशमा छिनछिनमा सरकार परिवर्तन होस् भनेर नचाहेको उल्लेख गरे।
‘सबैले यो देशमा राजनीतिक स्थायित्वको आशा गरेका छन्। हामी चाहँदैनौं यो देशमा छिनछिनमा सरकार परिवर्तन होस्,’ नेपालले भने।
अध्यक्ष नेपालले विगतका घटनाबाट शिक्षा सिकेर अगाडि बढ्नुपर्ने बताए। ‘संविधानलाई मिचेर होइन, संविधानको पालना गरेर प्रधानमन्त्रीले काम गर्नुपर्छ,’ नेपालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।