काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियाको नभइ क्रियाको राजनीति गर्न आवश्यक रहेको बताएका छन्। सोमबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले जनतालाई शुसासन दिने कुरा अब केन्द्रमा हुनुपर्ने बताए।
सबै राजनीतिक दलहरु मिलेर जनताका लागि काम गर्नुपर्ने जिम्मेवारी जनताले दिएर पठाएको भन्दै प्रधानमन्त्री दाहालले त्यसका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले जनताको सर्मथन सशर्त भएको भन्दै विगतमा जस्तै, परम्परागत राजनीतिक तरिकाले चल्ने छुट अब नभएको बताए। प्रतिनिधि सभाका सदस्यहरुको शपथ ग्रहणका क्रममा विविधता देखिएको भन्दै त्यसले आफूलाई धेरै खुशी लागेको उनले बताए।
उनले फरक फरक राजनीतिक पृष्ठभुमिवाट आएको भए पनि जनताप्रतिको जिम्मेबारी साझा रहेको बताए। अब समस्याहरु केलाएर बस्ने नभइ समाधान खोज्नुपर्ने प्रचण्डको भनाइ छ। संसद्मा नयाँ दलहरुको प्रवेश भएकोमा आफूलाई कुनै इर्श्या लागेको नभइ गर्व महसुस भएको प्रधानमन्त्रीले उल्लेख गरे।
संसद्मा नयाँ दलहरुको प्रवेश लोकतन्त्रको जित भएकाको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले केही गरि छाड्ने हुटहुटी नयाँमा भएकाले यसमा रचनात्मक हुने आशा व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।