काठमाडौं– बागमती प्रदेशको मुख्यमन्त्रीमा सोमबार माओवादी केन्द्रले दावी पेस गर्ने भएको छ। प्रदेश प्रमुखले दिएको समयभित्र सत्ता साझेदार दलहरुको सर्मथनमा बहुमतसहित मुख्यमन्त्रीको दावी पेस गर्ने तयारीमा रहेको माओवादी केन्द्रका प्रदेश सभा सदस्य युवराज दुलाल सरदले बताए।
सत्ता साझेदार दलहरुकाबीचमा बागमतीमा माओवादीले पहिलो चरणमा मुख्यमन्त्री पाउने सहमति गरेको थियो। आइतबार केन्द्रमा सहमति भएलगत्तै माओवादी केन्द्रले नेकपा एमाले र राप्रपाको सर्मथनमा दाबी पेस गर्न लागेको हो।
माओवादी केन्द्रका संसदीय दलको नेता केही दिनअघि मात्र सर्वसम्वत रुपमा चयन भएका शालिकराम जमरकट्टेल यसअघि अघिल्लो कार्यकालमा पनि मन्त्री रहेका थिए।
जमरकट्टेल २०६४ मा धादिङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। त्यसपछि २०७४ र मंसिर ४ गते भएको निर्वाचनमा उनी प्रदेश सभामा उम्मेदवार भएका थिए।
११० सदस्यीय बागमती प्रदेश सभामा सरकार बनाउने ५६ सिट आवश्यक हुन्छ। प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्। सत्ता साझेदार दल माओवादी केन्द्र, एमाले र राप्रपा मिल्दा ६१ सांसद हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।