काठमाडौं– प्रतिनिधि सभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्।
सोमबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले लामिछानेले सम्बोधन गर्ने निर्णय गरेको हो। सम्बोधनमा लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजनीतिक यात्रामा साथ दिएकोमा सम्पूर्ण नेपाली जनतालाई धन्यवाद दिने र जिम्मेवारी पूरा गर्ने प्रण गरेर बोल्ने तय भएको सांसद सन्तोष परियारले जानकारी दिए।
त्यस्तै, सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि गठन गरिने अध्यक्ष मण्डलमा चन्दा कार्कीको नाम सिफारिस गर्ने निर्णय पनि गरिएको छ।
प्रतिनिधि सभामा पहिलो पटक सहभागी यो दलका २० सांसद छन्। यो पार्टी सरकारमा पनि सहभागी भइसकेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार लिन लागेको विश्वासको मतका लागि यो पार्टीले आह्वान पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।