काठमाडौं– प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन सोमबारबाट सुरु हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस १२ गते सूचना प्रकाशित गरी पुस २५ का लागि अधिवेशन आह्वान गरेकी थिइन्। सोमबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बैठक बस्नेछ।
गत मंसिर ४ गतेको निर्वाचनबाट नयाँ प्रतिनिधि सभा गठन भएको छ। जसमा कांग्रेस ८९ सिटसहित सबैभन्दा ठूलो दल भएको छ।
त्यस्तै, एमालेले ७८, माओवादी केन्द्रले ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राप्रपाले १४, जसपाले १२, एकीकृत समाजवादीले १०, जनमत पार्टीले ६, लोसपाले ४, नागरिक उन्मुक्ति पार्टीले ३, नेमकिपाले १, राजमोले १ र स्वतन्त्र सांसद ५ जनाले जितेका थिए। एक स्वतन्त्र सांसद भने एमाले प्रवेश गरिसकेका छन्।
प्रतिनिधि सभाको तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका छन्। उनी गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका हुन्। उनले मंगलबार विश्वासको मत लिने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।