काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले एमालेसँग पनि पार्टी एकताको लागि छलफल हुने बताएका छन्।
वाम एकताका लागि भनेर माओवादी केन्द्रले गठन गरेको कार्यदलका सदस्य समेत रहेका पोखरेलले पछिल्लो चुनावबाट प्राप्त जनादेश (सन्देश)पछि वामपन्थी पार्टीहरुबीच एकताका लागि उच्च प्राथमिकताका साथ अगाडि बढ्न खोजिएको बताए।
न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा पोखरेलले पार्टी एकताका लागि एमालेसँग पनि छलफल गर्ने बताए। यद्यपि पार्टी एकताको विषयलाई एमालेले प्राथमिकता राखेको वा नराखेको विषयले छलफललाई सार्थक पार्ने बताए।
‘एमालेसँग पनि हामीले छलफल गर्नुपर्ने हुन्छ। उहाँहरुको प्राथमिकतामा पर्छ कि पर्दैन त्यो अर्को प्रश्न भयो। हामीले मात्रै प्राथमिकता दिएर आउने कुरा भएन। पहिले पनि नेकपा बनायौँ। अस्वभाविक ढंगले त्यो टुटेको थियो,’ पोखरेलले भने, ‘संसदबाहिर भएका थुप्रै पार्टीहरु हुनुहुन्छ, व्यक्तित्वहरु हुनुहुन्छ। उहाँहरुसँग पनि हामीले छलफल गर्नुपर्छ। त्यसकारणले हामीलाई हाम्रो कार्ययोजना बनाउनदिनुस्। प्राथमिकता त्यसले निर्धारण गरिहाल्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।